gallery image
अन्तरप्रादेशिक उडान विस्तारमा तारा एयर असोज १५ देखि रामेछाप लुक्ला दैनिक १३ उडान गर्ने
काठमाडौं। विकट गन्तव्य उडान गर्दै आएको तारा एयरले अन्तरप्रादेशिक उडान विस्तार गर्ने भएको छ। यो कम्पनीले असोज १५ गतेबाट रामेछाप-लुक्ला उडान गर्ने तयारी गरेको उडान सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

'हामीले पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले रामेछाप-लुक्ला उडान तयारी गरेका हौं। ट्राभल एजेन्सीबाट अत्यधिक माग आएपछि यो उडान सुरु गर्न लागेका हौं,' प्रवक्ता बर्तौलाले बिजमाण्डूसँग भने, 'भारतीय सदगुरुको भ्रमणपछि पश्चिम क्षेत्रतर्फ पनि यात्रु माग उल्लेख्य आइरहेको छ।'

आन्तरिक र बाह्य पर्यटकलाई ट्राभल एजेन्सीमार्फत रामेछाप लगिने र त्यहाँबाट कम्पनीले हवाई सेवा दिने उनले जानकारी दिए। उनका अनुसार रामेछाप-लुक्ला उडान हवाई दुरी १५ मिनेटको हुनेछ।

यो गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि १२ हजार दुई सय ७५, नेपालीका लागि ५२८० र लोकल प्यासेन्जर चार्टर उडानका लागि प्रति व्यक्ति सात हजार ५० रुपैयाँ  लागु गरिएको उनले जानकारी दिए।   

कम्पनीले यो गन्तव्यमा दैनिक १३ वटा उडानका लागि दुई सेट क्रु मेम्बर राख्ने तयारी गरेको उनले जानकारी दिए। रामेछापबाट बिहान ६:०० बजेबाट उडान सुरु गर्ने उनले जानकारी दिए। 'यो गन्तव्यबाट बिहान भीएफआर खुला भएसँगै उडान गर्नेछौं,' उनले भने।

रारा, जुम्ला, सिमीकोट, बाजुरा जान सम्भव नभएपछि कम्पनीले यो योजना लिएर अगाडि बढेको उनले जानकारी दिए। हाल यो कम्पनीले तीनवटा ट्विनअटर जहाजमार्फत नेपालगञ्जबाट सिमीकोट, बाजुरा, जुम्ला, रारा लगायत पश्चिमको पहाडी जिल्लामा उडान सेवा दिँदै आएको छ।

कम्पनीले पाँच महिनापछि पोखरा-जोमसोम उडान २५ सेप्टेम्बर तारिखबाट पुनः सुरु गर्न लागेको उनले जानकारी दिए।