gallery image
नौ महिनामा बुद्ध एयरको व्यापार ८ अर्ब
काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले नौ महिनामा करिब ८ अर्ब रुपैयाँको व्यापार गरेको छ।
बुद्धले उक्त अवधिमा ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँबराबरको कारोबार गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

आन्तरिक यात्रु संख्या बढेकाले नौ महिनामा कारोबार वृद्धि भएको बुद्धले जनाएको छ।  गत वर्ष बुद्धले ३ अर्ब ३३ करोड ६० लाखको व्यापार गरेको थियो। सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख र २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।

२०१८ मा कम्पनीले ६ अर्ब ८ करोड रुपैयाँको कारोबार गरेको थियो। कोरोनमा महामारीले उडान बन्द हुँदा २०२० र २०२१ मा कारोबारमा भारी गिरावट आएको थियो। 

सन् १९९६ मा स्थापना भएको बुद्ध एयरले देशका प्रमुख सहर विराटनगर, भैरहवा, नेपालगन्ज, पोखरा, भद्रपुर, भरतपुर, धनगढीलगायत गन्तव्यमा उडान गर्दै आएको छ। उसले अन्तर्राष्ट्रियतर्फ भारतको बनारस उडान पनि गर्दै आएको छ।
 
.
२०२२ मा बुद्धको मासिक आम्दानी ऐतिहासिक रूपमा उच्च रहेको छ। प्रतिमहिना बुद्धले ८५ करोड ५० लाख रुपैयाँबराबर कारोबार गरेको छ। २०१९ मा मासिक आम्दानी बढेर ५६ करोड ७० लाख रुपैयाँ पुगेको थियो।
बुद्धको बजार हिस्सा दुई प्रतिशतले घटेर ५६ प्रतिशत भए पनि नौ महिनामा कम्पनीको आम्दानीमा बढोत्तरी भएको छ।

त्यसैगरी बुद्धको प्रतिसिट प्रतिकिलोमिटर आम्दानी बढेर १७ रुपैयाँ पुगेको छ। २०२१ मा प्रतिसिट प्रतिकिलोमिटर आम्दानी १३ रुपैयाँ थियो। कोभिडअघि प्रतिसिट प्रतिकिलोमिटर आम्दानी २२ रुपैयाँ पुर्‍याउने लक्ष्य थियो। यसबाहेक कम्पनीको अनुभवी बोर्ड र व्यवस्थापन टोलीले नियन्त्रित व्यवसायमा योगदान गरेको छ।

व्यापार वृद्धिमा पछिल्लोपटक थपिएका तीनथान ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ को योगदान उल्लेख्य रहेको कम्पनीले जनाएको छ।

कोरोना महामारीपछि त्यसअघिका तुलनामा कम र बढ्दो विदेशी पर्यटक आगमनसँगै क्रमशः सुधार हुने अपेक्षा गरिएको छ।  घरेलु यात्रुहरूको सबैभन्दा मनपर्ने एयरलाइन्स बुद्ध भएको छ। विकसित क्षमताले गर्दा कम्पनीले राम्रो ट्र्याक रेकर्ड बनाएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको भाउ बढेपछि यसको असर उद्योगमा परेको छ। एक वर्षमा हवाई इन्धनको भाउ १ सय २६ प्रतिशतले बढेको छ।

कम्पनीका अध्यक्षमा सुरेन्द्रबहादुर बस्नेत छन् भने प्रबन्ध सञ्चालकमा वीरेन्द्रबहादुर बस्नेत छन्। बुद्धकाे शिखर इन्स्योरेन्स कम्पनीमा ६ प्रतिशत स्वामित्व छ। कम्पनीले १ करोड ८० लाख अमेरिकी डलर ऋणको रेटिङ गराएको छ।

आइतबार​ २६ भदौ २०७९ ०५:४२ PM मा प्रकाशित