gallery image
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका ६ त्रुटि नसच्याए उडान असम्भव
काठमाडौं । सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा सञ्चालक संघले ६ बुँदे त्रुटि औंल्याएको छ । ती त्रुटि तत्काल नसच्याए उडान सम्भव नभएको संघको ठहर छ ।

संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिमा विमानस्थल सञ्चालनमा ल्याउनुपूर्व आवश्यक भौतिक पूर्वाधार सम्पन्न भएपछि मात्र संघका सदस्य वायुसेवा कम्पनीले उडान भर्न सकिने उल्लेख छ ।
संघले ल्यान्डफिल्ड साइट सार्ने तथा चराचुरुङ्गी नियन्त्रणसम्बन्धी प्रश्न उठाएको छ । निर्माणाधीन विमानस्थलनजिकै ल्यान्डफिल्ड साइट रहेका कारण विमानस्थलमा ठूला चरा, गिद्धदेखि साना चरासम्म अनगिन्ती संख्यामा विमानस्थल वरिपरि बसिरहने गरेका कारण उडान सञ्चालनमा गम्भीर समस्या उत्पन्न हुनेछ ।

संघका अनुसार चराका गतिविधिका कारण ठूलो दुर्घटना हुनसक्ने भएकाले विमानस्थल सञ्चालनमा आउनुअघि नै ल्यान्डफिल्ड साइट स्थानान्तरण गरी चराचरुङ्गी नियन्त्रणसम्बन्धी ठोस व्यवस्था गरिनुपर्छ ।

पोखरा विमानस्थलमा हालसम्म हेलिकोप्टर पार्किङका लागि कुनै ठाउँ निश्चित नगरिएकाले पार्किङको उचित व्यवस्था हुनुपर्ने, हवाई इन्धन पूर्वाधार नै नभएकाले आयल निगमसँग आवश्यक समन्वय गरी सञ्चालनपूर्व नै उचित व्यवस्था हुनुपर्ने, जहाजका ‘ग्राउन्ड इक्विपमेन्ट, भर्‍याङलगायत राख्ने ठाउँ नभएकाले विद्युतीय सुविधासहितको व्यवस्था हुनुपर्ने संघले जनाएको छ ।

त्यसैगरी ‘लाइन मेन्टिनेन्स’ का लागि अफिस कोठाको व्यवस्था नभएकाले तत्कालै उपलब्ध गराउनुपर्ने र दुवै धावनमार्गको अन्तिम बिन्दु (रनवे इन्ड) सम्म ‘प्यारालल ट्याक्सी वे’ को व्यवस्था हुनुपर्ने माग पनि संघले अघि सारेको छ ।

विमानस्थलमा हाल निर्माणाधीन संरचनाअनुसार ‘रनवे १२’ तिरमात्र प्यारालाल ट्याक्सी वे र अन्य दुईवटा लिंक ट्याक्सी वेको व्यवस्था छ । जसले गर्दा ‘रनवे ३०’ मा पुग्न धावनमार्गबाटै जहाज जानुपर्ने अवस्था भएकाले ‘रनवे अकुपेन्सी टाइम’ बढी हुने र उडान ढिलो हुनसक्ने सम्भावना छ ।

यसका कारण रनवे ३० सम्म पनि प्यारालाल ट्याक्सी वेको आवश्यक व्यवस्था गरिनुपर्ने संघको माग छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउन लागिएको भन्दै संघले यसबारे ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

बिहीबार २३ भदौ २०७९ १२:०९ PM मा प्रकाशित