gallery image
उद्धारको सारथि सिम्रिक एयर
काठमाडौं : सोमबार गोर्खास्थित मनास्लु हिमालमा हिमपहिरो आयो। मध्याह्न १२ बजे झरेको पहिरोमा परी एकको मृत्यु भयो। ११ घाइते भए भने केही फसे। विश्वकै आठौं अग्लो हिमालमा अकस्मात हिमपहिरो झरेर मानवीय क्षति गर्नुको साथै केही आरोही पसेपछि उद्धार गर्नु कम चुनौतीपूर्ण थिएन।
७ हजार २ मिटरमा आएको हिमपहिरोमा फसेका आरोहीको उद्धार गर्न मौसममा आएको खराबी र भौगोलिक विकटता चुनौती थियो। तर, सिम्रिक एयरका क्याप्टेनको साहस र अनुभवले यी चुनौती सहज बन्यो। घाइतेको उद्धार र मृतकको शव निकाल्न सिम्रिकको सक्रिय सहभागिता रह्यो। घटना भएकै दिन आरोही सबैको उद्धार गर्न नसके पनि अर्को दिन निरन्तर काम हुँदा ठूलो घटनाबाट जोगियो।

मौसममा केही सुधार हुनेबित्तिकै सिम्रिक एयरले दुई जना सिकिस्त घाइते आरोहीको उद्धार गर्‍यो। सिम्रिकले ‘लङलाइन ध्याथड’बाट उनीहरूको उद्धार गरेको क्याप्टेन सुरेन्द्र पौडेल बताउँछन्। ‘हिमालमा उद्धार र काम सहज थिएन। भौगोलिक विकटता र मौसमका कारण केही बाधा भए पनि हामी उडान र उद्धार गर्न सफल भयौं।’

करिब ७ महिनाअघि पनि सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलनजिकै वनमा डँढेलो लाग्यो। आगो निभाउन स्थानीयवासीदेखि प्रहरी र सेनासम्म खटिए। अन्ततः सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी पानी हालेर आगलागी नियन्त्रणमा आयो। सिम्रिक एयरले एक वर्ष अवधिमा अत्याधुनिक प्रविधि प्रयोग गरी पाँच स्थानमा लागेको आगो निभाएको छ। नेपालमा सिम्रिकसँग मात्रै भएको बम्बी बकेटको सहयोगले सडक नपुगेको, दमकल जान नसक्ने साँघुरा गल्ली तथा उच्च पहाडी भेगमा पनि आगो नियन्त्रण गरिरहेको छ।

फायर फाइटरसहितको सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बमा तीन दिनमा आगो निभाएको थियो। हेलिकप्टरबाट पानी ड्रप नगरेको भए सायदै नजिकको गाउँ जोगाउन सकिँदैनथियो। सिम्रिककै हेलिकप्टरले गत फागुनमा नै तनहुँको दमौली बजारस्थित भोर्लेटार चोकमा लागेको आगो पनि निभाएको थियो। उक्त हेलिकप्टर काठमाडौंबाट दमौली गएको थियो। हेलिकप्टरले स्थानीय मादी खोलाबाट ४५ पटक पानी ओसारेको थियो। दमौलीमा लागेको आगो नियन्त्रण गरिदिन गृह मन्त्रालयले सिम्रिक एयरलाई आग्रह गरेको थियो। आगो निभाएपछि हेलिकप्टर काठमाडौं फर्किएको थियो।

बालाजु औद्योगिक क्षेत्रस्थित बिस्कुट उद्योगमा अघिल्लो साउन २२ गते भीषण आगलागी भएको थियो। नेपाली सेनाको बालाजुस्थित श्री नं १ बाहिनी अड्डाका सहायक बाहिनीपतिको कमान्डमा १ सय २८ जना दुई दमकलसहित खटिएका थिए। तर, स्थलगत प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको बम्बी बकेटमार्फत पानी खसालिएको थियो। उद्धारमा सधैं अघि रहेको कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क सेवा पनि दिने गरेको छ। शिवपुरी राष्ट्रिय निकुञ्जको वनमा लागेको आगो २०७७ चैत २९ गते सिम्रिक एयरले आफ्नै खर्चमा निभाएको थियो। त्यस क्रममा ७ लाख रुपैयाँभन्दा बढी खर्च लागेको थियो। कम्पनीका अनुसार ९ एन–एएलपी कल साइन भएको हेलिकप्टरले निकुञ्जमा लागेको आगो निभाएको हो। ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको वनमा लागेको आगो ५ दिनपछि सिम्रिकले नै २०७७ पुसमा निभाएको थियो।

स्थानीयवासी, सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीको प्रयास सार्थक नभएपछि सिम्रिकको हेलिकप्टर प्रयोग गरिएको थियो। पाथीभरा मन्दिर नै आगोको जोखिममा परेको थियो। नेपालमा पहिलो पटक बम्बी बकेट प्रयोग गरी आगो निभाइएको थियो। त्यहाँ जोरपोखरीको पानी लगिएको थियो।

सिम्रिकसँग भएको बम्बी बकेटमा एक हजार लिटर पानी अट्छ। आगलागी नियन्त्रणमा हेलिकप्टरको प्रयोग बढ्दो छ। भीरपाखा, साँघुरो ठाउँमा जान, वातावरणीय तथा मानवीय क्षति हुन नदिन हेलिकप्टर उपयुक्त माध्यम हो। त्यसमा प्राविधिक रूपमा सम्पन्न दक्ष र प्रशिक्षित उद्धार टोलका कारण सिम्रिक सधैं अघि आउने गरेको छ। सिम्रिक एयरले आफ्नो २१ वर्षे यात्रामा सेवासँगै उद्धारलाई तीव्र रूपमा अघि बढाएको थुप्रै उदाहरण छन्। 
http://aoan.org.np/storage/OtLpRjOB7DPVAO5cj3epO5mn5PkSBzMhJCis00pV.jpg.

आगलागी, प्राकृतिक दुर्घटनासँगै विपत्मा परेका मानिसहरूको उद्धारमा पनि सिम्रिक उत्तिकै जिम्मेवार रहेको कम्पनी बताउँछ। सिम्रिक एयरसँग अहिले ५ वटा आफ्नै हेलिकप्टर छन्। बेलफो सेभन एउटा र बीथ्रीई ४ गरी कुल ५ वटा हेलिकप्टरबाट सेवा प्रदान गर्दै आएको कम्पनी जानकारी दिएका छन्। हाल कम्पनीमा ७ जना पाइलट गरी करिब ७८ जना कर्मचारी कार्यरत छन्। 

स्थापनाकालमा एमआई ७ नामक ठूलो हेलिकप्टरबाट सिम्रिकले विशेषगरी कार्गो उडान सुरु गरेको थियो। त्यो बेला दुर्गम र पिछडिएका जिल्लामा बाटो नपुगेकाले कार्गो र यात्रुको ओसारपसारका लागि सिम्रिकले अग्रणी भूमिका खेलेको थियो। समयक्रमसँगै सिम्रिकले सन् २०११ बाट सानो आकारको हेलिकप्टर किनेर पहिलेकोलाई विस्थापित गरेको थियो। कम्पनीले पछिल्ला ५ वटा हेलिकप्टर ब्रान्ड न्यु नै किनेको थियो। अहिले हेलिकप्टरबाट गर्न सकिने सबै खालका सेवा सिम्रिक एयरले दिँदै आएको छ। 
अहिले टेक्निकल उद्धार (फसेका र अड्किएकाको उद्धार), स्विङ गरेर सामान ओसार्ने, फायर फाइटिङ, सर्भे, स्काई डाइभिङ, हेली स्की, माउन्टेन फ्लाइटलगायत सेवा दिँदै आएको छ। स्विङ गरेर सामान ओसार्दै एक टनसम्म सामान बोकेर विकट गाउँ वा आयोजना स्थलमा पुर्‍याउन सक्ने क्षमता सिम्रिक एयरको छ। सेवा र सुविधामा नयाँपन दिन माहिर सिम्रिक एयरले कोभिडको समयमा कोभिड बिरामीको ओसारपसार पनि गरेको थियो। सिम्रिक हेली विशेषतः हाई अल्टिच्युडमा उडान भर्न प्रख्यात नाम हो।