gallery image
यती एयरलाइन्सले थप्यो नयाँ जहाज, दसैंमा उडान भर्ने
काठमाण्डौं । निजि क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटिआर ७२-५०० जहाज थप गरेको छ । यतीको यो छैटौं जहाज साेमबार दिउँसो  ३ :१५ मिनेटमा त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडाैंमा अवतरण गरेको हो ।

यतीले ७० सिट क्षमताको उक्त जहाज अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त जहाज क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
एम एस एन नं. ९८६ सिरिजको उक्त जहाजकाे पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य जहाज भन्दा पछिल्लो जहाज भएको कम्पनीले दाबी गरेको छ । एटिआर जहाजकाे जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ ।

जहाज संख्या थप गरे सँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने निति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । 'जहाजको आवश्यक कागजी प्रक्रिया पुरागरी रंगरोगन गरे पश्चात् जहाज दसैं अगाडि नै उडान गर्नेछ, यसले गर्दा दसैंकाे बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएका छौं' उनले भने ।

यहि आर्थिक वर्षभित्र अर्को एक जहाज थप गर्ने र त्यसपछि नयाँ गन्तब्यहरुमा सेवा विस्तार गर्ने  उनले बताए । जहाज थप भएपछि ५ वटा जहाजलाई आधार बनाई उडान गर्ने र एउटा जहाजलाई जगेडामा राखीमर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ  ।

आट ७२-५०० टर्बाेप्रप जहाजकाे पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ। ७० सिटको क्षमताको यो जहाज टर्बोप्रप इन्जिन भएको उत्कृष्ट जहाज मानिन्छ । पि डब्लु १२७ इन्जिनहरूद्वारा संञ्चालित आट ७२-५०० यस आकारको जहाजाके लागि उत्कृष्ट मानिन्छ । अन्य जहाज भन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकाले  उडानको क्रममा आरामदायी हुनेछ ।

यो जहाजले नयाँ पुस्ताका जेटहरू भन्दा प्रति यात्रु/किमीमा लगभग ५०५ कम कार्बन उत्सर्जन गर्दछ र पुराना जहाजहरू भन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्दछ । यती एयरलाइन्स दक्षिण एसियामा पहिलो कार्वनन्युट्रल एयरलाइन्स हो ।

एयरलाइन्सले हाल नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्रास्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्ने अनुमति पाएको छ ।

सोमबार २० भदौ २०७९ ०५:०९ PM मा प्रकाशित